

बरियारपट्टी । बरियारपट्टी गाउँपालिका नेपालको मधेस प्रदेश अन्तर्गत सिरहा जिल्लामा अवस्थित एक महत्वपूर्ण स्थानीय तह हो। २०७३ सालमा नेपालमा स्थानीय तहको पुनर्संरचनासँगै यो गाउँपालिका स्थापित भएको हो।
नेपालमा ७५३ स्थानीय तह लागू हुँदा सिराहा जिल्लामा साविकका बरियारपट्टी, कचनारी, जानकीनगर, तेनुवापट्टी र जिझौल गाउँ विकास समितिहरू (गा.बि.स) लाई समेटेर बरियारपट्टी गाउँपालिका बनाइएको थियो। यसको क्षेत्रफल ३७.७२ वर्ग किलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको बरियारपट्टी गाविसको कार्यालयमा राखिएको छ। यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ।
भौगोलिक, सांस्कृतिक, र सामाजिक विविधताले भरिएको यो गाउँपालिका सिरहाको ग्रामीण जीवनशैली र आधुनिकताबीचको सन्तुलनको प्रतीक हो।
बरियारपट्टी गाउँपालिका सिरहा जिल्लाको समथर भूभागमा फैलिएको छ। यहाँको भौगोलिक बनावट कृषि कार्यका लागि अत्यन्त उपयुक्त छ। उर्वर भूमि, प्रशस्त पानीका स्रोतहरू, र हरियालीले भरिएको यो गाउँपालिकाले कृषि उत्पादनमा राम्रो सम्भावना बोकेको छ। गाउँपालिकाभित्रका वडाहरूले एकीकृत रूपमा शिक्षा, स्वास्थ्य, र विकासका काममा सक्रिय सहभागिता जनाइरहेका छन्।
बरियारपट्टी गाउँपालिका ऐतिहासिक रूपमा कृषि र परम्परागत जीवनशैलीमा आधारित रहेको क्षेत्र हो। यहाँका मानिसहरूले आफ्नो सांस्कृतिक र धार्मिक परम्परालाई जोगाउँदै आधुनिकताको अभ्यास सुरु गरेका छन्। यहाँका गाउँहरू प्राचीन इतिहासका धरोहरहरू जस्तै मठमन्दिर, पोखरी, र परम्परागत मेलाहरूका लागि प्रसिद्ध छन्।
बरियारपट्टी गाउँपालिकाको मुख्य आर्थिक स्रोत कृषि हो। धान, गहुँ, मकै, तेलहन, तरकारी, र फलफूल उत्पादनमा यहाँका किसानहरूले परिश्रम गरिरहेका छन्। कृषिमा आधुनिक प्रविधि र जैविक खेतीको प्रयोगले उत्पादन बढाउन सकिन्छ। साथै, साना उद्योग, साना बजार, पसलहरू, र वैदेशिक रोजगारीले गाउँपालिकाको अर्थतन्त्रमा योगदान पुर्याएको छ। यस पालिकामा बरियारपट्टी बजार सबै भन्दा ठूलो बजार हो। हुलाकी राजमार्ग बनेपछी यस चौकको भविष्य राम्रो रहेको स्थानीयहरू बताउँछन्। भविष्यमा यो बरियारपट्टी बजार शहरको रूपमा विकसित हुने आकलन गरिदैछ।
गाउँपालिकाले शिक्षामा महत्त्वपूर्ण प्रगति गरेको छ। यहाँ आधारभूत विद्यालयदेखि क्याम्पस तहसम्मका विद्यालयहरू सञ्चालनमा छन्। यहाँका अधिकांश समुदायिक तथा सरकारी विद्यालयहरू मा+२ सम्मको पठनपाठन हुदै आएकोछ। साथै जनताहरू सहयोगले यसैपाली देखि हुलाकी बहुमुखी क्याम्पस संचालनमा आएको छ। यस क्याम्पसमा हाल बि.बि.ए (BBA) संकायको कक्षा सञ्चालनमा छ भने निकट भविष्यमा बि.एड (B.ed) र बि.बि.एस (B.B.S) कक्षा समेत सञ्चालनमा ल्याएने हुलाकी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दिलिप कुमार यादवले Nice News संग कुराकानी गर्दै बताए।
यद्यपि, अझै शिक्षाको गुणस्तर सुधार्न र विद्यार्थीहरूको पहुँच सुनिश्चित गर्न प्रयास गर्नुपर्ने आवश्यकता छ।
स्वास्थ्य सेवाका लागि स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकीहरूको उपलब्धता छ, तर स्तरीय उपचार र आधुनिक उपकरणहरूको अभाव महसुस भइरहेको छ। बरियारपट्टीमा रहेको स्वास्थ्य चौकीमा हाल दुई एमबिबिएस डाक्टर कार्यरत छन् भने प्रयोगशाला (ल्याव)मा ५४ प्रकारको रोगको परिक्षण हुदै छन्। साथै गर्भवती महिलाको लागि नि:शुल्क अल्ट्रासाउण्ड को ब्यबस्था रहेको छ।
तथापि यहाँका अधिकांश बिरामीहरू प्राथमिक उपचार गराउन लहानका बिभिन्न निजि अस्पतालमा जाने गरेका छन् भने अन्य उपचार गराउनका लागि कोशी प्रदेशका विभिन्न सहरमा (धरान, विराटनगर) जानुपर्ने बाध्यता रहेको छ। यहाँका जनताहरु उपचार गराउनका लागि बाहिर जानु पर्ने बाध्यतालाई हटाउनका लागि स्थानिय सरकार उदासीन देखिन्छ। बरियारपट्टी गाउँपालिका का स्वास्थ्य अवस्था राम्रो रहेको छैन् ।
बरियारपट्टी गाउँपालिका सांस्कृतिक रूपमा विविधताले भरिएको छ। यहाँका बासिन्दाहरू विभिन्न जातजाति, धर्म, र भाषाभाषी छन्। यहाँ हिन्दू धर्मावलम्बी बहुसंख्यक रहेका छन् । छठ, दशैँ, तिहार, होली, तीज जस्ता चाडपर्वहरू उत्साहका साथ मनाइन्छ। यी पर्वहरूले सामाजिक एकता र मेलमिलापको भावना बलियो बनाउँछन् ।
बरियारपट्टी गाउँपालिकामा विकासको सम्भावना प्रचुर मात्रामा छ। कृषिमा आधुनिकीकरण, सिचाइँको व्यवस्था, शिक्षा र स्वास्थ्य सेवामा सुधार, र पूर्वाधार निर्माण जस्ता कदमले गाउँपालिकाको समृद्धि बढाउन सकिन्छ। तर, कृषिमा पुरानै विधि, किसानले समयमा खाद मल, बिउँ नपाउनु, बेरोजगारी, जलवायु परिवर्तन, र पूर्वाधारको कमी जस्ता समस्याहरूले चुनौती प्रस्तुत गरिरहेका छन्।
बरियारपट्टी गाउँपालिका केवल सिरहाको मात्रै होइन, सम्पूर्ण प्रदेशको समृद्ध र सम्भावनायुक्त स्थानीय तह हो। यहाँका बासिन्दाहरूको सामूहिक प्रयास, नेतृत्वको दृढता, र सही योजनाले गाउँपालिकालाई उदाहरणीय बनाउन सक्छ। यो गाउँपालिका प्रगतिशील विचारधारा र परम्परागत जीवनशैलीको उत्कृष्ट मिश्रणका रूपमा विकासको बाटोमा अघि बढिरहेको छ।
लेखक :- राम प्रेम यादव (कानुनको बिधार्थी , (LLM Criminal Law Running)