युगाण्डामा महिला टी-२०आई शृंखला : विश्‍वकप छनोटको तयारीसँगै एक्सपोजरको अवसर
sssssss sss

१ फागुन, काठमाडौं । नेपाली महिला क्रिकेट टोलीका लागि एक महिनाभित्रै दोस्रोपटक अन्तर्राष्ट्रिय शृंखलाको अवसर जुरेको छ । गत महिना घरेलु मैदानमै थाइल्याण्ड र नेदरल्याण्ड्ससँग ३-३ खेलको शृंखला खेलेको नेपालले अब घरबाहिर शृंखला खेल्दै छ ।

घरेलु शृंखलामा जितविहीन रहेको नेपाली महिला टोलीले अब युगाण्डामा गएर घरेलु टोलीसँगै हङकङ र नामिबियासँग टी-२०आई शृंखला खेल्दै छ ।
नेपालले युगाण्डासँग यसअघि घरेलु मैदानमै पाँच खेलको शृंखला खेलेको थियो भने हङकङसँग पनि विभिन्न समयमा खेलिसकेको छ । नामिबियासँग भने महिला क्रिकेटमा नेपालको पहिलो भेट हुनेछ ।

आईसीसीको महिला टी-२०आई वरियतामा नेपाल २१औं, हङकङ २२औं, युगाण्डा १८औं र नामिबिया १७औं स्थानमा छन् । यस्तोमा यस शृंखला नेपालका लागि वरियता सुधारको पनि मौका हुनेछ ।
यस शृंखलाका लागि इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भइसकेको छ । दुई नयाँ खेलाडीसहितको टोली बुधबार नै युगाण्डा प्रस्थान गरेको छ ।

एक्सपोजरको अवसर

गत महिना नेपालमै भएको महिला टी-२०आई शृंखला घरेलु मैदानमा लामो समयपछि फर्किएको अन्तर्राष्ट्रिय महिला क्रिकेटको खेल थियो । घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेलहरू नखेलेको साढे दुई वर्षभन्दा बढी भइसकेको अवस्थामा नेपाल क्रिकेट संघ (क्यान)ले उक्त शृंखलाको आयोजना गरेको थियो ।